होशियार ! गाउँहरू…

जिवित खड्का मगर

चिडियाखानाबाट फुत्केर
बस्ती-बस्तीहरू आतंकित पार्दै
हिंस्रक बाघ-भालुका तीखा नङ्ग्रा र दाह्राले
चिथोर्न थालेपछि
हामी पनि प्रत्याकर्मणमा उत्रेथ्यौं
ब्याधाहरूको लागेर पछि-पछि ।

इतिहासमा हराएका डाइनोसरजस्ता
बलिया दाह्रा
तीखा नङ्ग्रा
र दिब्यशक्तिले सम्पन्न झैं लाग्ने टाउका
जस्तो रामायणकथामा रामले
जति नै पटक वाण हानेर टाउको काटेपनि
उति नै पटक पलाउने रावणको झैं टाउकाहरू ।

लाग्थ्यो,
आगो र आँधीजस्तै लाग्थ्यो
दृढ आकाङ्क्षाको ढाल बोकेर छातिभरि
हिम्मत र विश्वासको भीरमा हाम्फाल्दा लाग्थ्यो ।

त्यसैबेला —
कति बाउआमाहरू भावविह्वलको इनारमा डुबे
कति प्रिय साथीहरू जीवनलोकबाट हराए
र पनि दुख्खको सगरमाथा
र आँधीको प्रसान्त महासागर पौडिदै
अन्ततः खतरनाक बाघ-भालूहरू
हाम्रै फन्दामा पार्यौं ।

मान्छेका काँचो मासु
र पोसिलो रगत खान पल्केका
यिनका दाह्राहरू थुतिए
तीखा नङ्ग्राहरू काटिए
र अब हामीलाई डर रहेन
त्यसैले चिडियाखानामा राख्नुकोसट्टा
जंगलमै छाडेर फर्किएथ्यौं ।

हाम्रा खाटा पारेका घाउहरू नसुक्दै
सन्तोषको सास नफेर्दै
तिनै छदमभेषी ब्याधाहरू
बाघ-भालुहरूकै रुपधारण गरेर
हामीलाई नै चिथोर्दैछन्
यतिखेर हाम्रा लाटा गाउँभित्र-भित्र पस्दैछन् ।

होशियार ! गाउँहरू
फेरि समय
ब्याधाहरूको उत्सव मनाउने तयारीमा छ ।