कवि तथा चित्रकार जीवित खड्का मगरको एउटा कवित- बन्द खाम

बन्द खामभित्र

तिमीले लेखिपठाएको
पन्नापन्नाका जम्मै अक्षरहरू
फिर्ता लै’गएपनि
बन्द खामभित्र –
पुरानू कागज, शब्दको फोटो र आँसुका दागहरू
अहिलेपनि सुरक्षित छ ।

फोकिलामा जतनसाथ बेरिराखेका मेरा मायालु हरफलाई
लेनदेनको हिसाब सकिएझैँ
तिमीले त्यही दिन प्रेमको तमसुक च्यात्यौ
जब तिम्रै आँखाको सागरमा उर्लेको
एकएक भुल्का निक्लिँदै-हराउने छालहरूमा
तिम्रै प्रतिबिम्बहरू देखिरहेथेँ मैले ।

देख्दाबखत —
कस्सम होला सेन्नानी !
झलकमानको गीतझैँ
निर्जन वनको डाली-डाली उभिएर
त्यो एक्लो ढुकुरको आवाजलाई सुनेको
अहिले पनि मेरो मनमा ताजै छ ।

स्याला ! बैँस रहुन्जेल
लहरा र पहराहुँदै हाम्फाल्ने त्यो बाहुनछहरा पनि
खडेरी पर्खेर बग्दैछ – उमेरको ओरालो
सावनी आँखामा
हुलाकी वैशाख नआएजस्तो ।

अबत सेन्नानी
हामीले अडेस’लाई बात मार्दा-नमार्दै
लाजै नमानी फूल्ने
त्यो गुराँसको रुखपनि सुकिसकेछ
सुकेझैँ, मैले रोपेको विश्वासको गमलामा
तिमीले दिएको गुलाबी बोट ।

आज लामूदिनपछि भेट जुर्नुरै’छ र
तिमीसंग जम्काभेट भयो यै बाटोमा
ओइ, सेन्नानी !
कतै बिर्सेकी त छैनौँ यो कुरा भनेकी तिमीले ?
* यै बाटोको छेउ
बूढो चिउरीको हाँगोमा नाम्लो हालेर
जोल्टेपिङ खेलौँ मच्ची-मच्ची …!

तर त्यसपछि कुन्नि के भयो तिमीलाई
यो बाटोको त्यो चौबाटो उभिएर साँझमा
घाम अस्ताएझैँ सरक्क सर्किँदै गएकी तिमी
फरक्क फर्किएर एकबाजी’नि हेरिनौँ ।

यो बेला मलाई माफ गर, ख्वै कसोरी भन्ने ?
यो होकि,
तिमीले डोर्‍याउँदै लिएको यो साँ लागेको बकेर्ना गाइसंग
म भित्र गोठमा बाँधिराखेको बहरगोरू
अहिले पनि मन्द्राउने छैन् …!

अँ ,,, बरू फर्किजाने बेलामा —
तिमीले छोडिराखेको बन्दखाम
शब्दको फोटो र आँसुका दागहरू
जम्मै फिर्ता दिनुछ, तिमीलाई
नबिर्सी सम्झाउनू ल ।