पनई (जुत्ता)

विकाश रोका मगर

मालिक म त्यही पनई हुँ
जो खिईएर पनि आफु – गरिरहेछु हजूरको खुत्ताको सुरक्षा ।

मालिक !
हजूरलाई नलागोस् फोहोर भनेरै
कहिले धुलो कुल्चेको छु आफै । कहिले गुहु कुल्चेको छु ।
कहिले टेकेको छु काँडाहरुमा । छियाछिया भएको छु ।
हजूरलाई नदुखाउने शर्तमा दुखेको छु धेरै पटक ।

हजूरले छिचोलेका जम्मै जम्मै यात्रामा
हिडेको छु म पनि अन्तिम एउटा विश्वासी सहयात्री बनेर ।
हजूर संगै उकालो चढेको छु । ओरालो पनि झरेको छु ।

मालिक म पनई हुँ पनई
हजूर मन्दिर पस्दा बसेको छु बाहिरै दैलो कुरेर
हेरेको छु देवताको ढुंगे अनुहार ।
बाहिर बाटै सय बार ढोगेको छु उसैलाई ।
र मागेको छु बडो प्रेमले आशिर्वाद ।

हजूरले खडा गरेका विजयी प्राचिन कथाहरुमा
कहि न कहि त म पनि जोडिएको छु नेपथ्य पात्र ।
मेरो पनि च्यातिएको छ तलुवा ।
मेरो पनि चुँडिएकाछन् कैयौं पटक तना ।
हजूरकै सेवामा उप्किएकाछन् मेरा अस्तित्वका सोलहरु ।

मालिक !
हजुरको अंगको सबैभन्दा मुन्तिर बसेर
बोकिहिडेको छु मैले पनि एउटा सिंगो ईतिहास ।
ईतिहासका पान्नामा लेखिनु पर्थ्यो मेरो पनि नाम ।
तर लेखिएछ हजूरको मात्रै लेखिएछ – स्वर्ण अक्षरले ।

हजूरले टेकेका सबै भूगोलमा टेकेको छु मैले पनि ।
हजुरको खुत्ताका छापमा –
छोडेको छु मैले पनि आफ्नै आदिवासी छापहरु ।
तर लेखिएन कहि पनि मेरो दुखका रामायण ।
गुमनाम कतै बिलाई गएछु ।

मालिक म त्यही पनई हुँ
जो खिईएर पनि आफु – गरिरहेछु हजूरको खुत्ताको सुरक्षा ।

तर कहिल्यै नसोच्नूस् पनई हो पनई
मात्रै खुत्ताको एउटा जिनिस न हो – फ्याँकेर हिड्छु फोहोरको थुप्रो माथि ।
यदि कसैगरि उछिट्टिएर आईपुगें भने –
हजूरको त्यो पवित्र गालामा या गलामा ?

त्यसपछि कसले गर्छ हजुरको सिंगो शरिरको सुरक्षा ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *