सडक छाप-कविता

जयन्ती मगर सरगम

स्वयं उसलाई !!
थाहा छैन ठेगाना, कहाँ हो उसको
र थाहा छैन उसलाई
यो सडकसँग नाता के हो आफ्नो?

यो बतास महशुस गर्न जानेको दिन
यही सडकमै थियो –
झरीमा भिज्न जानेको दिन
यही सडकमै थियो
ठेस लागेर दुखेको दिन
यही सडकमै थियो
उसले जान्दै जानेन घर-परिवार आफन्तहरु
तर भोंक जानेको दिन
यही सडकमै थियो ऊ ।

सडकमै बामे सर्यो उसले ।
अभावमा- मुटु दह्रो बनाएर
सडक सँगै बाँच्न सिक्यो ।

सडक नै उसको सबथोक भयो ।

त्यही सडक छेउको स्कूलको
पर्खालमा
लुकेरै सिक्यो अक्षर फुटाउन
कुनै चोर थिएन ऊ
तर उसलाई अनुमति थिएन भित्र जान
किनकि उसँग सफ़ा ड्रेस थिएन
र थिएन चोरी औँला समाएर
स्कूलभित्र पुर्याउने हात !
मात्र थियो समयको लात ।

सडमै २/४ अक्षरसँगै जिन्दगी बुझिरहेछ
आफूलाई बुझिरहेछ
सँगै बुझिरहेछ देशको परिस्थिति ।

गरिरहेछ भोकसँग युद्ध
बसिरहेछ पहरेदार सडकको
फेरि नहून् सडकमा बलात्कार कोही
र नजन्मियून् आफूँजस्तै बालक
अनि नबनाईयून् सडक छाप ।

बाग्लुङ
हाल बुटवल

Leave a Reply

Your email address will not be published. Required fields are marked *