सगरमाथामा निःशुल्क हेल्लो डाक्टर सेवा

सोलुखुम्बु : तीन वर्षदेखि सगरमाथा आधार शिविरमा इन्टरनेट सेवा दिँदै आएको एभरेस्ट लिंक प्रालिले आतरबारदेखि हेल्लो डाक्टर सेवा सुरु गरेको छ। प्रालिले सोलुखुम्बुको नाम्चेमा एक कार्यक्रम गर्दै सेवाको प्रारम्भ गरेको हो। हेल्लो डाक्टर सेवाको उद्घाटन आइतबार सन् १९५३ को सगरमाथा आरोहण दलका एक मात्रै जीवित सदस्य कान्छा शेर्पाले गरेका हुन्। विश्‍व पदयात्रा/पर्वतारोहण गर्ने पर्यटकको संख्या बढ्दो छ। नेपालमा पछिल्लो समय सगरमाथा आरोहण गर्नेको संख्या बढिरहेको छ। नेपालको पदयात्रा सुरक्षित भएको सन्देश विश्वभर फैलाउने उद्देश्यका साथ हेल्लो डाक्टर सेवा सुरु गरिएको प्रालिले जनाएको छ।
सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे विदेशी तथा स्वदेशी पर्यटक र स्थानीयलाई डाक्टरसँग निःशुल्क परामर्श सेवा दिन हेल्लो डाक्टर सेवा सुरु गरिएको प्रालिका प्रमुख कार्यकारी अधिकृत छिरिङ ग्याल्जेन शेर्पाले बताए। सेवाको औपचारिक उद्घाटन आइतबार भए पनि सेवाग्राहीले बुधबारबाट मात्र सेवा लिन पाउने प्रालिका मिडिया संयोजक चक्र कार्कीले जानकारी दिए। कुनै पनि स्वदेशी तथा विदेशी नागरिकले पदयात्राको क्रममा आफूलाई केही अप्ठयारो आइपरेमा या कुनै शारीरिक अस्वस्थता भएमा एभरेस्ट लिंकको ब्राउजरमा गई निःशुल्क सेवा लिन पाउने उनले बताए। कार्कीका अनुसार इन्टरनेट प्रयोगका लागि कार्ड प्रयोग गर्नु परे पनि हेल्लो डाक्टर सेवाका लागि कुनै रकम लाग्ने छैन।
सगरमाथा क्षेत्र सबै पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश प्रवाह गर्न सेवा प्रभावकारी हुने अपेक्षा गरिएको एभरेस्ट लिंकका प्राविधिक निर्देशक चेहेन लामाले बताए। अहिले एभरेस्ट लिंकले टेलिकम र एनसेलको इन्टरनेट तथा फोन सेवा नभएको उच्च हिमाली भेगमा इन्टरनेट सेवा दिँदै आएको छ। यसले हिमाल आरोहणमा आउनेलाई पनि परिवारसँग सम्पर्क गर्न मद्धत पु¥याएको छ। लामाका अनुसार अहिले विश्वका जुनसुकै देशबाट आएका पर्यटकले आफू सुरक्षित रहेको सन्देश फेसबुक तथा भाइबरबाट आफन्तलाई दिइरहेका छन्। इन्टरनेट सेवाको सुरु भएसँगै सगरमाथा क्षेत्रमा आउने स्वदेशी तथा विदेशी पर्यटक, स्थानीय बासिन्दा, गाइड र भरियाले कुनै पनि स्वास्थ्य समस्याबारे डाक्टरसँग प्रत्यक्ष परामर्श लिन सक्नेछन्।
निर्देशक लामाका अनुसार एभरेस्ट लिंकको सेवा नलिएका पर्यटक र स्थानीयले पनि उक्त सेवा उपयोग गर्न सक्नेछन्। एभरेस्ट लिंकको पेजमा गई आकस्मिक सेवाका लागि राखिएको ‘कल’ बटममा क्लिक गरी सेवा लिन सक्नेछन्। उक्त कल यस लिंकमा जोडिएका डाक्टरको मोबाइलमा पुग्नेछ। यसरी डाक्टरसँग सम्पर्क भइसकेपछि बिरामीले स्वास्थसम्बन्धी आवश्यक परामर्श लिन सक्नेछन्। यसरी सम्पर्क स्थापित हुनका लागि डाक्टर इन्टरनेटको सम्पर्कमा हुनु पर्नेछ। हामीले प्रविधिको माध्यमबाट पर्यटकलाई सेवा दिने उद्देश्यले हेलो डाक्टर सेवा प्रारम्भ गरिएको उनले बताए।
पहिलो चरणमा पाँच जना डाक्टरलाई सहभागी गराइएको र क्रमशः विस्तार गर्दै लगिने प्रालिको भनाइ छ। सञ्जाल विस्तार गर्दै लैजानु पर्ने ग्रिनसिटी हस्पिटलका मेडिकल डाइरेक्टर डा. रोमियो कंसकारले जानकारी दिए। आकस्मिक अवस्थामा उक्त सेवा प्रभावकारी हुने उनको भनाइ छ। खुन्दे हस्पिटलका डाक्टर कामी तेम्बा शेर्पाले क्षमताले भ्याएसम्म सहयोग गर्न तयार रहेको बताए।
कम्पनीले स्वयमसेवी डाक्टरको सञ्जाल स्थापना गरी यस सेवालाई प्रभावकारी बनाउने कार्कीले बताए। यस क्रममा ग्रिनसिटी हस्पिटल काठमाडौं, स्वाकोन हस्पिटल काठमाडौं र खुन्दे हस्पिटलका डाक्टर सञ्जालमा जोडिएको कार्कीले जानकारी दिए।

FROM ANNAPURNAPOST

Leave a Reply

Your email address will not be published. Required fields are marked *