प्रदेश प्रमुख चयनको आधार र औचित्य

प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन लगत्तै केन्द्रीय सरकार र अझ प्रदेशको प्रमुख चाहिँ चर्चाको शिखरमा रहने देखिन्छ । एमाले, माओवादी केन्द्र र नेकालगायत पार्टीका कतिपय नेताहरू केन्द्रीकृत वा एकात्मक सोचका कारण आफू आफू मात्रै सधैँ माथिल्लो तहमा हालीमुहाली गर्ने सोचबाट निर्देशित देखिन थालेका छन् । तर केन्द्रीकृत शासन प्रणालीका नकारात्मक पक्षहरू समूल समाप्त  पारेर मुलुक सङ्घीय समावेशी लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ । अहिले जन्मिँदै राजा, काजी, जर्नेल र पण्डित हुने परिपाटीको अन्त्य भएको छ ।

अब त प्रबुद्ध र प्रभावशाली व्यक्तित्व छ भने जन सामान्य घरको  सन्तान भए पनि राष्ट्रपति भइसकेको अवस्था छ । यो शासन भनेको बहुभाषी तथा बहुसांस्कृतिक नेपाली  प्रतिभाको समुचित परख गरेर उचित पदमा आसीन गर्ने र गराउने पद्धति हो । सात प्रदेशमा प्रमुख बनाउँदा बहुभाषी बहुभेषी तथा बहुसांस्कृतिक सौन्दर्यलाई समेट्नु अपरिहार्य देखिन्छ । सोझो भाषामा भन्दा नेपाल बहजातीय प्रतिभाहरू  मिश्रित देश हो । माक्र्सवादले वर्गीय चिन्तनअन्तर्गत राखेर जातीय समस्याको समाधान गर्ने सोच राखेको देखिन्छ । यसरी हेर्दा वाम गठबन्धन र यससित सम्बन्धित एमाले र माओवादी केन्द्रले वर्ग पक्षधरताका आधारमा समावेशी तर क्षमतावान्, इमानदार र कुशल नेताहरूलाई समेट्तै प्रदेश प्रमुख बनाउने मान्यता बनाउनुपर्छ । यसो गर्दा समावेशी तथा प्रतिस्पर्धी नेतृत्व प्रदेश प्रमुख बन्ने अवस्था आउँछ । यसो हुँदा मानौँ प्रदेश नं. १ को प्रमुख चयन गर्दा यस प्रदेशको भाषिक, सांस्कृतिक विशिष्टतालाई समेट्ने प्रमुख बन्ने अवस्था सहज हुनेछ । यस प्रदेशको प्रमुखका प्रबल दाबेदार शेरधन राई कुनै पनि हिसाबले कोहीभन्दा कम देखिँदैनन् । मन्त्री हुनुभन्दा अघि र पछिको अवस्थामा राई आर्थिक दृष्टिले अत्यन्त इमानदार रहेका छन् ।

त्यसैले आआफ्ना प्रतिभा, क्षमता, इमानदारिता लिएर मैदानमा प्रतिस्पर्धा गर । नत्र अब आफूलाई मुखले उच्च जात, उच्च पद, उच्च हैसियत र उच्च इमानदार भनेर फुटानी गरेर प्रदेश प्रमुख हुन सकिन्न ।  केन्द्रीकृत शासन प्रणाली भुइँतहका आम जनताको तह, तप्का, विचार र व्यक्तित्वको कदर गर्ने पद्धति होइन । सङ्घीय समावेशी गणतन्त्रात्मक शासन प्रणालीमा कोही जन्मँदै जर्नेल, काजी, पण्डित हुन सक्तैन । प्रतिभा, क्षमता, योग्यता, इमानदारिताका आधारमा  जसकसैले आफ्नो औकात बनाउन सक्छ । अब एकात्मक शासनमा जस्तो उच्च जात, नाक र नश्लका आधारमा कुनै पनि प्रतिभालाई कुनै पनि पार्टीले छेक्न र छोप्न सक्तैन । त्यसमा पनि कम्युनिस्ट पार्टीले विगतका सांस्कृतिक अवशेषलाई पूर्ण रूपमा परित्याग गर्नुपर्छ । प्रतिभाको फूलबारी मान्ने एमाले पार्टीले कुनै पनि नेता र कार्यकर्ताको प्रतिभाको उचित कदर गर्न जान्नुपर्छ । पार्टी नीति हात्तीको देखाउने दाँत होइन । माओवादी केन्द्रले एकात्मक सोचका सारा पर्खाल भत्काएर आम जनता, नेता र कार्यकर्ताका गुण, क्षमता र प्रतिभाको उचित कदर गर्नुपर्छ भनेर दश वर्षे युद्धको अपेक्षा  पनि  थियो । माओवादी केन्द्रले नेता र कार्यकर्तालाई राजनीतिक वा राजकीय जिम्मेवारी दिँदा पनि भाषिक, सांस्कृतिक विविध प्रतिभाको उचित कदर गरिनुपर्ने सच्चाइ स्वीकार गरेकै हो ।

एक निश्चित दरबार र घरबारबाट ठाडो निर्देशनका आधारमा गरिने शासन प्रणाली सङ्घीयता होइन । डा. स्वामी प्रपन्नचार्यलाई अझ पनि काले राईकै नजरबाट हेरेर श्रीमद्भागवत पुराणको व्यासासनमा विराजमान गर्न रोक्न मिल्छ ? बौद्धिक तथा प्राज्ञिक हीरालाललाई अब पनि विश्वकर्माका रूपमा मात्र हेरेर अयोग्य भन्न सुहाउँछ ? बौद्धिक वैचारिक तथा सङ्घर्षशील नेतृ पवित्रा खरेल, झापालाई मात्र महिलाका दृष्टिले हेर्ने पश्चगामी सोचले अग्रगमन सम्भव हुन्छ ? तीक्ष्ण तथा बहुआयामिक सर्जक प्रतिभा झमक घिमिरेको उचित आदर र कदर नगर्ने मान्छे कहीँ सङ्घीय गणतान्त्रिक नेता हुनसक्छ ? के जनताको सेवामा बौद्धिक र भौतिक हिसाबले समर्पित भगवती चौधरीलाई सामान्य थारु महिलाका नजरले मात्र हेरेर उनका व्यक्तित्वको उचाइ छेक्दा भतभती पोल्दैन ? अब खुट्टामा नेल र निला डामा अनि निधारले मात्र टीका लगाउने र घाँटीमा मात्र माला भिर्ने दिन गए । काम गर्ने रामे माम खाने चामे भन्ने दिन गए । अब मानिसलाई उसको गुण, क्षमता, इमानदारिताका आधारमा मात्र मूल्याङ्कन गर्ने दिन आए । अब पार्टी नेता र कार्यकर्ताको पहिचान, पदोन्नति र पहुँच  वंश, नश्ल, जात, कुल घरानका आधारमा गर्ने दिन पनि  बिते । जनताको बहुदलीय जनवादले जनताको मन जितेर राजनीति र राजकीय नेतृत्व हासिल गर्नु पर्छ भन्ने दिन आए ।

अब पनि वाम गठबन्धन र त्यसभित्रका पार्टीहरूका छोटे राजा हुन खोज्नेले आफूलाई बेलैमा सुधार्न सकेनन् भने तिनका दिन गए । जनमैत्री र कार्यकर्ता मैत्री बिनाको ठस्के, ठिम्के, अररे र बाउठे नेताका दिन गए । अझै छोटे जङ्गे हुन खोज्नेहरू कोही छन् भने तिनका पनि दिन समाप्त भए । अहिले  समावेशिताका आधारमा सबै प्रतिभाहरूलाई १९,२० भए पनि समुचित रूपमा समेट्ने काम गर्ने अवस्था हो । अहिले राजनीति र राजकीय क्षेत्रहरूमा  पनि कथित उच्च जातिका मानिससित हरेक क्षेत्रमा दाजिन सक्ने पुस्ता तयार भएको छ । अब उमेरको र पदीय ज्येष्ठताका आधारमा आफूलाई मात्रै ठूलो र महान्  ठान्ने दिन पनि सकिए । एमाले अध्यक्ष के.पी. शर्मा ओलीले भनेझैँ प्राप्त जिम्मेदारी र दायित्व अनुसार उचित भूमिका निर्वाह गरेर मात्र ज्येष्ठ र वरिष्ठ हुन सकिन्छ । सबैभन्दा ठूलो कुरा राजनीतिमा आर्थिक इमान हो । यसैमा खिया लागेपछि अरू भएभरका भनिएका जतिसुकै महान् क्षमता र विशेषता बेकामका  हुन्छन् । इमान नै लत्रिएपछि जमान बिक्तैन ।
केन्द्रीकृत शासन प्रणालीमा सबै राजनीति, अर्थ, भाषा तथा संस्कृतिलगायत तमाम विषय, क्षेत्र, विधा, विचार, व्यक्ति र व्यक्तित्व निर्माण, व्यवस्थापन र  परिचालनकमा केन्द्रीय  तथा निरङ्कुश पद्धति अपनाइन्थ्यो । सामन्ती मात्रै होइन पुँजीवादी शासन प्रणालीभित्रको केन्द्रीकृत तथा एकात्मक सोच अब चल्दैन । पार्टीको कार्यकर्ता र नेताहरू निम्न, निम्न मध्यम वर्गबाट आउन थालिसके ।

पार्टीमा विभिन्न वर्ग, तह र तप्काका प्रतिभाहरू प्रवेश गरेर आआफ्ना क्षमताहरू देखाइसके । पोहोर जस्तो अहिले छैन हिजो जस्तो आज छैन ।  जननेता मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादमा जनताको घरआँगनमा समीपमा आर्थिक, भौतिक,राजनीतिक लगायत तमाम प्रतिफल उपलब्ध गराउने मान्यता उल्लेख गरेका छन् । भण्डारीले आवरणमा अहिलेको जस्तो सङ्घीयता नभने पनि सारमा जनहित, जनएकता मैत्री सङ्घीयताको मार्ग प्रशस्त गरेका थिए । एमालेका कतिपय नेताले नै यसलाई नबुझ्दा समस्या हुन गएको हो ।

केन्द्रीकृत  शासन प्रणालीमा स्वस्थ्य प्रतिस्पर्धात्मक पक्ष शून्य हुन्थ्यो । एक जात, धर्म, संस्कृति, समुदाय, विचार, मूल्य र मान्यतालाई केन्द्रीकृत शासनले स्थापित गथ्र्यो । सामन्तवादी मूल्य मान्यताका आधारलाई केन्द्रमा राखेर राणा, शाह वा अन्य पारिवारिक कथित  उच्च जातिका आधारमा बौद्धिक वा भौतिक शोषण विगतको केन्द्रीकृत शासनको मूल परिचय हो । तर २०६२,०६३ को शान्तिपूर्ण जनक्रान्तिबाट  सामन्ती केन्द्रीकृत शासन ढल्यो । त्यसैले अब एकल र एकात्मक जात, धर्म, संस्कृति, समुदाय, व्यक्ति र व्यक्तित्व विचार, कृतित्वलाई बिना प्रतिस्पर्धा ज्येष्ठ र श्रेष्ठ मान्ने दिन छैनन् । कमरेड ओलीले भनेझैँ पार्टीमा इमानदार रूपमा काम पनि गर्नु अनि अपमान पनि सहने कुरो अब किमार्थ जाति हुँदैन तसर्थ जुनसुकै भाषिक सांस्कृतिक समुदायको नेता भए पनि उसको क्षमतालाई उचित कदर गर्दै अग्रगमन गर्ने फराकिलो सोच नेतृत्वले राख्नैपर्छ ।

लेखक एमाले संस्कृति विभागका केन्द्रीय सदस्य हुन् । 

साभारःरातोपाटी

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)