कवयीत्री जयन्ती थापा मगरको परिचय सहित उनको कविता..

पिता ज्योतिलाल श्रीस मगर र आमा टीका श्रीस मगरको कोखबाट जयन्तीले २०५१ साल माघ २४ गतेका दिन यस् धर्तिमा पाइला टेकेकी हुन्। सानै उमेर देखि नै साहित्य सिर्जना गर्न औधी रुचाउने जयन्तीको नाम अहिले कवितामा चर्चा छ भए पनि उनी मुक्तक र गजलमा पनि कलम चलाउने गर्छिन्। 

 

 जयन्तीको जैमिनी ७ बाग्लुङ स्थायी घर हो। तर उनी अहिले बुटवलमा छिन। श्रीमान टंक बहादुर थापाको सहयोग र हौसलामा उनी साहित्यिक कार्यक्रममा भाग लिन जिल्ला बाहिर र थुप्रै महफिलमा उपस्थित भैसकेकी छिन। पेशाले स्नातकोत्तरमा अध्ययनरत जयन्तीको संयुक्त गजल सङ्ग्रह “धवल-वाटिका ” लगायतका अन्य फुटकर रचनाहरु प्रकाशित भैसभैसकेका छन्। धौलागिरी कला तथा साहित्य मञ्च , राष्ट्रिय नारी साहित्य परिषद् नेपाल , हातेमालो साहित्य संगम बाग्लुङ , बुटवल साहित्य संगम , गजल सागर नेपाल , लुम्बिनी बाङ्मय प्रतिष्ठान , फर्साटिकर साहित्य संगम जस्ता साहित्यिक संस्थमा उनी आबद्ध रहेकी छिन। उनै कोमल भावुक र मीठो कविताको हरफ लेख्ने नारी स्रष्टा तथा कवयित्री जयन्ती थापा मगर सरगमको “तिम्रो अगाडि जीवित प्रश्न !” शीर्षकको कविता रेडियो नवीन संसार डटकमको कला साहित्यको भागमा प्रकाशित गरेका छौ।

जयन्ती मगर ‘ सरगम’

 तिम्रो अगाडि जीवित प्रश्न ! 

 

कसले झण्डा गाड्यो

र अपहरण गर्यो

तिमीले पुज्ने भूमि ?

र त्यो सँगै कता हरायो

तिमीले ओतिने स्याखु ?

 

भन लाफा !

तिम्रो पहिरन यो माटोसँगै हुर्किएको

तिम्रो शरीरबाट कसरी हरायो ?

तिम्रो लवज तिम्रै जिब्रोबाट कहाँ बेपत्ता भयो ?

 

यतिबेला तिम्रो अगाडि

जीवित प्रश्न सहित आएकी छु।

तर लाफा तिमी भने चुपचाप छौ।

 

तिम्रो जिब्रोको हत्या भएपछि नै हो

तिम्रा सन्तानहरु बोल्न बिर्सेका

त्यसपछि नै हो

लाखौं जीतबहादुर सिङ्जालीहरुका

पलाउदै गरेका कलमहरु भाँचिएका

र सयौंथरी थुङ्गा फूलबाट

एक थुङ्गा फूल हराउँदै गएको।

 

तर लाफा तिमी भने अझै मौन छौ।

 

हो म मान्दछु

शासकलेझैं छली खेल खेल्न

तिमीलाई आउदैन ।

हो मलाई थाहा छ

निर्धाहरुका सपनाका भर्याङ बनाएर

सत्ताको हिमाल चड्न तिमीले जान्दैनौ

र त्यो कहिल्यै गरेनौ पनि

आफ्नो स्वभिमानलाई बन्धकी राख्न।

 

जुन समय वीरबलको खिचडी पाक्यो

त्यति नै बेला हो रोधी शून्य भएको।

हो ! त्यहीँ बेलादेखि हो

संग्रहालयमा तिम्रो

पहिरन रोइरहेको ।

 

यति धेरै युगहरु

तिम्रा आँखाका डिल हुँदै कता कता पुगिसके

तर तिमी भने चुपचापको बर्को

ओडेर मौन पहाड झैं बसेका छौ ।

 

ओ ! लाफा ! ओइ ! लाफा !

अब त्यो मौनताको बर्को फालिहाल ।

भत्काऊ त्यो मौनताको पहाड पनि

उखेली देऊ जरा अत्याचारको

र जुरुक्क उठ प्रश्न बनेर

यो व्यवस्थाको अघिल्तिर ।

 

© साहित्य, रेडियो नवीन संसार डटकम

www.radionabinsansar.com

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)