गीत हिटपछि फेरियो गायक चक्रको जीवन

धनगढी : घरको आर्थिक अवस्था कमजोर भएपछि भारतमा मजदुरी गर्थे उनी। त्यहाँ राम्रो कमाइ नभएपछि रिनपान गरेर कोरिया, नभए खाडी मुलुक जाने मनस्थितिमा थिए। तर, पछिल्लो तीनवटा गीत हिट भएपछि उनको बिदेसिने सपनामा ब्रेक लागेको छ। उनको विदेशको जत्तिको कमाइ यतै हुन थालेको छ। उनी अर्थात् कैलालीको गोदावरी नगरपालिका श्रीपुरका गायक चक्र बम (२४)।

‘नाच मेरी झुमा नाचिदे छमछम’, ‘क्या खतरा गीत बजायो यार डीजेवालाले’ र ‘चुइगम पड्काउन्या, दारु सड्काउन्या’ एकपछि अर्को गर्दै चक्रले बजारमा ल्याएका यी तीन गीतले उनलाई एकाएक चर्चामा ल्याइदिएको छ।

‘यसअघि एक दर्जन देउडा गीत निकालेँ, सुन्नलायक त भए तर मेरो पहिचान बनाउन सकेनन् ती गीतले’, गायक बम भन्छन्, ‘नाच मेरी झुमा’ मेरो जीवनको ‘टर्निङ प्वाइन्ट’ हो।’

गीत नचलेर तनावमा रहेका बमले धनगढीबाट काठमाडौं गएर कोरियन भाषाको परीक्षा दिए तर फेल भए। तनावमै रहेका बेला बजारमा आएको उनको ‘नाच मेरी झुमा’ एकाएक हिट भयो। अहिले त्यसको युट्युबको भ्युअर्स मात्रै २२ लाख ३१ हजार पुगेको छ। दैनिक एक हजारका दरले भ्युअर्सहरू बढिरहेका छन्।

चक्रले तीनवटै गीतमा सुदूरपश्चिमको डोटेली भाषा प्रयोग गरेका छन्। उनले देउडामा विरक्त बोकेका गीतमात्रै होइन, र्‍याप मिसाएर देउडामै दर्शक र श्रोतालाई नचाउनुपर्छ भन्ने ‘कन्सेप्ट’ ल्याए। ‘देउडामा थोरै रिमिक्स गरियो भने छमछमी नाच्न सकिँदो रहेछ’, उनले भने।

अहिले चक्रका तीनवटै गीत जुनसुकै डीजे पार्टीमा पनि घन्किन्छन्। उनले यी तीन गीतलाई विशुद्ध देउडा नभई र्‍याप पप र देउडाको फ्युजन भनेका छन्। केही देउडा कलाकारले उनलाई देउडाको भाका बिगारेको, देउडालाई उच्छृंखल बनाएको आरोप लगाएपछि चक्रले यस्तो भनेका हुन्।

डोटेली भाषामा र्‍याप पनि बनाउन सकिन्छ, त्यसमा ‘टिपिकल देउडा’का भाकाहरू राख्न सकिन्छ र दर्शक श्रोतालाई भरपूर मनोरञ्जन दिनुका साथै देउडामै नचाउन सकिन्छ भन्ने अवधारणाले नै यस्ता गीत ल्याएको उनको दाबी छ।

‘नाच मेरी झुमा’पछि आएको ‘क्या खतरा गीत बजायो यार डीजेवालाले’ गीतको पनि युट्युब भ्युअर्स १३ लाख ९१ हजारभन्दा बढी पुगिसकेको छ। केही महिनाअघि मात्रै उनले बजारमा ल्याएको ‘चुइगम पड्काउन्या, दारु सडकाउन्या’ बोलको गीतका पनि युट्युब भ्युअर्स सात लाख १३ हजारभन्दा बढी पुगिसकेको छ।

यो गीतको सामाजिक सन्देश नराम्रो भयो कि भन्ने प्रसंगमा गायक बम भन्छन्, ‘हाम्रो यता टेन्सन भयो भने मदिरा खानुपर्छ अर्थात् दारु सड्काउनुपर्छ भन्ने चलनका विरुद्ध यो गीत हो।’ उनको भनाइमा अहिलेका युवा पढेलेखेपछि रोजगारी नपाएर टेन्सनमा हुन्छन्, अनि कुलतमा फस्छन् भन्ने सन्देश दिन खोजिएको हो गीतमार्फत।

चक्रले हाल धनगढीमा चलिरहेको सुदूरपश्चिम महोत्सवमा पनि आफ्नो प्रस्तुति देखाएका छन्। मेलामा ५० हजारभन्दा बढी दर्शक र श्रोताको उत्साह देखेर उनलाई कोरियन भाषामा फेल भएर पनि ठीकै भएछ भन्ने लागेको छ। उनले भने, ‘यस्तो माया, चर्चा कोरिया गएको भए काँबाट पाउथेँ र ? ‘

साभारःअन्नपुर्णपोस्ट

Please follow and like us:

अथवा इमेल बाट कमेन्ट गर्न तलको अर्को बक्समा जानुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Enjoy this blog? Please spread the word :)